काठमाडौं, जेठ ७ (ई-रैवार)
कांग्रेससहितको विपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमाभित्रै सरकारको नेतृत्वमा दाबी गर्ने प्रयास गरिरहेका छन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका का हुन ।
काँग्रेस संसदीय दलको कार्यालयमा सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि सो संख्यामा हस्ताक्षर जुटाइएको जनाएको छ । स्रोतका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको हो ।
कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी छ । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्ने तयारी गरेको हो ।
१४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नयाँ सरकारका लागि दाबी पेश गर्न जाने तयारी रहेको कांग्रेस नेता गगन थापाले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । कांग्रेस संसदीय दलको कार्यालयमा अहिले विपक्षी गठबन्धनको छलफल पनि चलिरहेको छ ।


