काठमाडौँ, जेठ २ (ई-रैवार)
एमाले विवाद मिलाउन दुबै पक्षको वार्ता टोली गठन गरिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको छलफलपछि नेताहरु सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा वार्ता टोलीको टुंगो लगाइएको हो ।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आइतबार सिंहदरबारमा भएको छलफलपछि दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएका हुन । उक्त कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । त्यस्तै, नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका नेता नेपालले जानकारी दिए ।
कार्यदललाई तीन दिनभित्र काम सक्न निर्देशन दिइएको छ । कार्यदल गठनको जानकारी दिँदै वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग भने, ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ ।’
गएको शुक्रबार साँझ सिंहदरबारमा नै ओली र नेपालबीच भएको बैठकले ०७५ जेठ २ आसपास फर्कनका लागि कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा ओली र नेपाललाई दिएको थियो ।


