सुदूरपश्चिम सहित ३ प्रदेशका प्रदेश प्रमुख फेरिए, कांग्रेस, माओवादी र जसपा गरे भागबन्डा

Spread the love

काठमाडौं, कात्तिक २३ (ई-रैवार)

सरकारले सुदूरपश्चिम सहित तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो।

प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन्। प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्। उनी पहिले बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्तिका नेता थिए।

कर्णाली प्रदेशमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ। उनी नेकपा माओवादी केन्द्रनिकट हुन्।

यस्तै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन्। उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन्। हालै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि निर्वाचित भएका छन्।

प्रदेश प्रमुख बनाउने निर्णय भएर पत्र राष्ट्रपति कार्यालयमा पठाएको छ,’ स्रोतले भन्यो। नयाँ प्रदेश प्रमुखहरूलाई छिट्टै सपथग्रहण गराउने तयारी छ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए । तिनैजना नेकपा एमालेनिकट हुन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो। यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरिएका थिए। त्यसबेला पनि दलहरूले भागबन्डा गरी प्रदेश प्रमुख बनाएका थिए।