काठमाडौँ, वैशाख ३१ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको हुन ।
राष्ट्रपति कार्यालय स्रोतका हनुसार शपथपछि प्रधानमन्त्री ओलीले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुने बताएको छ ।
विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । अन्य दलले बहुमत पु¥याउन नसकेपछि बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको ठूलो दलको हैसियतमा राति १० बजे पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनी संविधाको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् । विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको हो ।
अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।


