देउवा र प्रचण्डवीच भेटवार्ता : समयमै बहुमतीय सरकारको दावी पेश गर्ने

देउवा र प्रचण्डवीच भेटवार्ता : समयमै बहुमतीय सरकारको दावी पेश गर्ने
Spread the love

काठमाडौँ, वैशाख ३० (ई-रैवार)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्ता भर्खरै सकिएको हो ।

करिब एक घण्टा लामो भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भएको बताइएको छ। सरकार गठनका लागि बहुमतसहित दाबी गर्ने समय सकिन लाग्दासमेत ठोस सहमति जुट्न नसकेका बेला के गर्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको हो।

दुई पार्टीको मात्रै बहुमत नपुग्ने, जसपाभित्रको विवाद र एमालेकै माधव नेपाल पक्षधरको पनि राजीनामा नआइसकेको भन्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा गहन छलफल भएको बताइएको छ।

भेटवार्तामा बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने सहमति भएको छ। दुई नेताबीचको भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्नेबारे छलफल भएको छ ।

वैशाख २७ गते संघीय संसद्मा विश्वासको मत लिन नसकेपछि केपी ओली नेतृत्वको सरकार कामचलाउमा परिणत भएको छ। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

राष्ट्रपतिले दिएको समयसीमाभित्र बहुमतको सरकार गठनका लागि दलहरुको दौडधुप जारी रहेका बेला दुई पार्टीका प्रमुखबीच भेटवार्ता भएको हो । भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि रहेको बताइएको छ ।

देउवाले साँझसम्मको परिस्थिति हेरेर आवश्यक कदम चाल्ने स्रोतले जानकारी दिएको छ। आजै सभापति देउवाले साझ ४ वजे पार्टी पदाधिकारी बैठक बोलाएका छन्। उक्त बैठकमा पनि पछिल्लो परिस्थितिका बारेमा नै छलफल हुने बताइएको छ।