ओलीले भने- सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू

ओलीले भने- सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू
Spread the love

काठमाडौँ, वैशाख २६ (ई-रैवार)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले एक वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

“के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु,” उनले भनेका छन्, “यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् ।