कैलाली, वैशाख २७ (ई-रैवार)
नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा हालसम्म २ सय २७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश दीर्घरोगी रहेका छन् । कोरोना संक्रमित भएपछि श्वास प्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएका मध्ये अधिकांशलाई दीर्घ रोग देखिएको बताइएको छ ।
वैशाख ४ गते यता अछाममा मृत्यु भएका ७ जना कोरोना संक्रमित मध्ये अधिकांशलाई दीर्घरोग थियो । दीर्घ रोगीको कोरोना संक्रमणका कारण मृत्यु भएको अछामका कोभिड फोकल पर्सन मीनबहादुर कुँवरले बताए । उनले भने,‘कोरोना संक्रमणका कारण मृत्यु भएका अधिकांश विरामीलाई दीर्घ रोग थियो ।’ केहीलाई प्रेसर र केहीलाई सुगरको बिरामी अगाडिदेखि नै रहेको बताउँदै उनले भने,‘मृत्यु भएका मध्ये केही बिरामी दीर्घ रोगका प्यासेन्ट रहेको उनीहरुको हिष्ट्रीबाट पत्ता लागेको छ ।’
यस्तै बैतडीमा पनि कोरोनाका कारण मृत्यु भएका ६ जना मध्ये केहीलाई दम, सुगर तथा प्रेसरको बिरामी रहेको बताइएको छ । ‘मृत्यु भएका एक जना ३२ वर्षीय युवालाई भने सुगरको बिरामी थियो,’ वैतडीका कोभिड फोकल पर्सन भुवन जोशीले भने,‘उनको हिष्ट्री हेर्दा पहिलेदेखि नै सुगरको औषधि सेवन गर्दै आएका थिए ।’ बझाङमा मृत्यु भएका ७ जना मध्ये केदारस्यु गाउँपालिकाका एक जना ७० वर्षीय पुरुषलाई प्यारालाइसिसको बिरामी थियो भने एक जना दमका बिरामी रहेको बताइएको छ । त्यस्तै एक जनालाई भने क्षयरोगको औषधि सेवनकर्ता रहेको बताइएको छ । बाजुरामा मृत्यु भएका ४ जना मध्ये प्रायः सबै जनालाई दीर्घरोगको हिष्ट्री देखिएको बताइएको छ । एकजनालाई भने डाइलासिस गरिएको अवस्थामै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । दार्चुलामा मृत्यु भएका तीन जना मध्ये तीनै जना दीर्घ रोगी रहेका थिए ।
मृत्यु भएका मार्माका ५१ वर्षीय पुरुषलाई प्रेसरको बिरामी रहेको थियो भने नौगाड गाउँपालिकाका ७२ वर्षीय पुरुष सुगरका बिरामी थिए । यस्तै श्वासप्रश्वासका बिरामी रहेका शैल्यशिखर नगरपालिकाका ६५ वर्षीय पुरुष विगत एक वर्षदेखि श्वासप्रश्वास नियमित औषधि सेवन गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयले बतायो । डोटीमा मृत्यु भएका तीन जना मध्ये एक दिपायल सिलगढी नगरपालिकाका ३२ वर्षीय पुरुष फोक्सोको बिरामी रहेको बताइएको छ । उनको फोक्सोको अवस्था कमजोर रहेका कारण कोरोना संक्रमणपश्चात् मृत्यु भएको बताइएको छ । त्यस्तै एक जना ४५ वर्षीय पुरुष सुगरका बिरामी रहेको बताइएको छ । उनी सुगरका बिरामी रहेकै अवस्थामा कोरोना संक्रमण भएको बताइएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सबैभन्दा बढी जोखिम दीर्घ रोगीलाई हुने गरेको डाक्टर देबेन्द्र आचार्य बताउँछन् । उनले भने,‘कोरोनाको संक्रमणले जोखिम त सबैलाई छ, त्यसमा पनि सबैभन्दा बढी दीर्घरोगीलाई छ ।’ दम, श्वासप्रश्वासका बिरामी, प्रेसर, सुगर, क्षयरोग जस्ता दीर्घरोगीलाई सबैभन्दा बढी जोखिम रहेको उनले बताए ।
सुदूरमा २२७ को मृत्यु
नयाँ भेरियन्टसहितको कोरोना देखिएसँगै सुदूरपश्चिममा सोमबार बेलुकीसम्म दुई सय २७ जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिमको ९ वटा जिल्ला मध्ये सबैभन्दा बढी कैलालीमा कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कैलालीमा हालसम्म १ सय ३६ जनाको मृत्यु भएको छ । सोमबार मात्रै कैलालीमा ८ जनाकाृ मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । यस्तै कैलालीपछि कञ्चनपुरमा ५८ जनाको मृत्यु भएको छ । कैलाली र कञ्चनपुरपछि अछाममा ७ जना, बझाङमा ७ जना, बैतडीमा ६ जना, बाजुरामा ४ जना डडेल्धुरा, दार्चुला र डोटीमा ३/३ जनाको मृत्यु भइसकेको छ ।
सक्रिय संक्रमित ८ हजार नाघे
सुदूरपश्चिममा सोमबार बेलुकीसम्म ८ हजार ७६ जना सक्रिय संक्रमित पुगेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ । सुदूरपश्चिमका ९ जिल्ला मध्ये सबैभन्दा बढी सक्रिय संक्रमित कैलालीमा रहेका छन् । कैलालीमा हाल ३ हजार ८ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै कैलालीपछि कञ्चनपुरमा १ हजार ३ सय ९८ जना रहेका छन् । कैलाली र कञ्चनपुरपछि अछाममा ६ सय ५८ जना, बैतडीमा ५ सय ४५ जना, बझाङमा ५ सय १८ जना, डोटीमा ३ सय ७१ जना, डडेल्धुरामा ३ सय ५३ जना, दार्चुलामा २ सय ४ जना र बाजुरामा १ सय ९४ जना रहेका छन् । नागरिक दैनिकबाट


