जन्ती बोकेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, बेहुला–बेहुलीसहित ११ जना घाइते

जन्ती बोकेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, बेहुला–बेहुलीसहित ११ जना घाइते
Spread the love

बैतडी, वैशाख १३ (ई-रैवार)

कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित ११ जना घाइते भएका हुन ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये १ जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा १० जना सामान्य र १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् इन्सपेक्टर किशोर ऐरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा बेहुला–बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको हो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ ।