काठमाडौँ, वैशाख २६ (ई-रैवार)
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने बताएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि उनीहरु सिधै बालुवाटार पुगेका हुन् ।
अध्यक्ष ठाकुर र नेता महतोले प्रधानमन्त्रीलाई भेटेर विश्वासको मतमा आफूहरु तटस्थ बस्ने निष्कर्षमा पुगेको जानकारी दिएका थिए । ‘हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौं। हाम्रा माग सम्बोधन भएका छैनन्,’ महतोले भने, ‘विपक्षमा पनि मत दिनौं, हामी तटस्थ बस्छौं भनेका छौं।’
प्रधानमन्त्री ओलीलाई भेट्नुअघि अध्यक्ष ठाकुर र नेता महतोले करिब डेढ घण्टा नेपाली कांग्रेसका सभापति शेरबहादु देउवासँग उनकै निवास बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका थिए।
सभापति देउवालाई अहिले प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत आफूहरु तटस्थ बस्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन् ।
बूढानीलकण्ठ पुगेका उनीहरुले देउवालाई विश्वासको मतमा तटस्थ बस्ने र त्यसपछि चुनावी सरकार गठन गर्ने प्रस्ताव गरेका थिए । तर चुनावी सरकार कसको भन्नेबारेमा भने उनीहरुले केही नबताएको स्रोतले जानकारी दिएको छ ।
जसपामा प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्नेमा अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष छ भने अध्यक्ष ठाकुर पक्षले ओलीलाई नै निरन्तरता दिन सकिने बताइरहेको थियो। तर आज अध्यक्ष ठाकुरले ओलीलाई विश्वासको मत दिन नसकिने प्रष्टाएका छन्।


