प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
Spread the love

काठमाडौँ, वैशाख २५ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक डाकेका छन् । सोमबार र बिहीबार नियमित बस्दै आएको मन्त्रिपरिषद बैठक आज साँझ ५ पनि डाकिएको हो ।

मन्त्रिपरिषद बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा पनि खुलाइएको छैन । ‘एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले हामी पनि अन्योलमा छौ’, ती मन्त्रीले भने, ‘कुनै महत्वपूर्ण निर्णय हुनसक्छ ।’

बैठकका एजेण्डाबारे जानकारी नभए पनि वैशाख २७ को विश्वासको मत र विकसित राजनीतिक घटनाक्रमबारे ओलीले परामर्श लिन खोज्नु भएको हुन सक्ने एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि यही वैशाख २७ गते संसदको ‘विशेष अधिवेशन’ आह्वान गरिएको छ । प्रधानमन्त्रीले ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् ।

विश्वासको मत लिने मिति सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरूबीच आन्तरिक तथा बहुपक्षीय छलफलले तीव्रता पाएको छ ।आजै कांग्रेसको संसदीय दलको बैठकसमेत बस्दैछ ।