काठमाडौं, वैशाख २४ (ई-रैवार)
राष्ट्रियसभामा रिक्त एक पदकालागि उपनिर्वाचनको उमेदवारी मनोनयनपत्र दर्ता आज हुँदै छ । निवार्चन आयोगका अनुसार आउँदो जेठ ६ गते हुने राष्ट्रियसभामा रिक्त एक पदका लागि उपनिर्वाचनको उमेदवारी मनोनयनपत्र दर्ता आज बिहान १० देखि अपराह्न ४ बजेसम्मको समय तोकेको हो ।
उपनिर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दल दर्ता गराएका छन् ।
प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र यादव–बाबुराम भट्टराई समूह) र एमालेको माधवकुमार नेपाल समूहले डा. खिमलाल देवकोटालाई साझा उमेदवार बनाउने निर्णय गरिसकेका छन् । संघीयताविद् देवकोटा साझा उमेदवार बन्ने भएपछि एमालेले भने अहिलेसम्म उमेदवार तय गर्न सकेको छैन ।
एमालेले रामबहादुर थापा ‘बादल’ लाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ भने बादल जितको ग्यारेन्टी नभएसम्म उम्मेदवारी नदिने अडानमा छन् । जसका कारण अहिलेसम्म एमालेको तर्फबाट उम्मेदवार चयन भइसकेको छैन ।
गृहमन्त्री समेत रहेका बादल उमेदवार बन्नका लागि हच्किएका छन् । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादललाई उमेदवार बनाउने घोषणा गरेका थिए । हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उमेदवार तय गर्न सकेन । नेताहरु अझै छलफलमा नै रहेको बताइरहेका छन् ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीले पनि आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ । तर, अहिलेसम्म टुंगो नलागेको संघीय सांसद प्रेम सुवालले जानकारी दिए । उनका अनुसार उमेदवारका बारेमा अहिले छलफल हुनेछ ।
निर्वाचनमा प्रदेशका ११० र स्थानीय तहका २३८ गरी ३४८ मतदाता छन् । प्रदेशसभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ । यसरी कुल ९५६४ मतभार हुनेछ ।
जसमा प्रदेशसभामा एमालेको ५७, कांग्रेसको २२, माओवादी केन्द्रको २३, विवेकशील साझा पार्टीको तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दुई, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को दुई र स्वतन्त्र (जसपा) एक गरी ११० मतदाता छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि हेटौँडामा निर्वाचन अधिकृतको कार्यालयबाट स्थापना गरेको छ । हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको आयोगले जनाएको छ ।


