काठमाडौँ, वैशाख २२ (ई-रैवार)
भारतमा थप ३ लाख ८२ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ८२ हजारमा कोरोना संक्रमण पुष्टि भएको हो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वकै अतिप्रभावित मुलुक भारतमा ३ लाख ८२ हजार ६९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २४३ पुगेको छ । अहिले सम्म भारतमा १ करोड ६९ लाख ३८ हजार ४०० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६६५ रहेको छ ।
यस्तै भारतमा एकैदिन ३ हजार ७ सय ८६ कोरोना संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।
भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शव जलाउन घाटमा घण्टौं कुरेको र नयाँ घाट निर्माण गरिरहेका भिडियोहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गर्दै आएका छन् ।
संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ ।संक्रमितको उपचारका लागि भारतलाई अरुदेशले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् ।


