वैशाख २७ गते संसद अधिवेशन आह्वन : प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

वैशाख २७ गते संसद अधिवेशन आह्वन : प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
Spread the love

काठमाडौं, वैशाख १९ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् ।

खानेपानी मन्त्री मणि थापाका अनुसार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

मन्त्रिपरिषद्लाई संसद अधिवेशन बोलाउन र विश्वासको मत लिने जानकारी गराएपछि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएको खानेपानी मन्त्री मणि थापाले बताए । प्रधानमन्त्री ओलीले आइतबार बिहान एमालेको स्थायी समिति बैठकपछि पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन । प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि उसले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सरकार निर्माणका लागि पहल गरिरहेको छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।

सरकारलाई हेर्ने दृष्टिकोणमा जनता समाजवादी पार्टीभित्र विवाद छ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष अहिलेकै सरकारप्रति नरम छन् ।