धर्मनिरपेक्ष भनिएको नेपालमा धर्मको धमिलो

धर्मनिरपेक्ष भनिएको नेपालमा धर्मको धमिलो
Spread the love

कुनै शक छैन, कन्टिर–बाबू हिन्दू धर्म मान्छन् र हिन्दू धर्मशास्त्रमा वर्णित देव–देवीको पूजा–आराधना गर्छन् । तर यसको अर्थ उनी लकिरको फकिरवाला कट्टर कर्मकाण्डी भने होइनन् ।

कन्टिर–बाबू ‘सर्वधर्म हिताय सर्वधर्म सुखाय’ दर्शनको अनुशरण गर्नेवाला हुन् । संविधानमा यो देशलाई धर्म निरपेक्ष भनिएको छ । कन्टिर–बाबू प्रश्न गर्छन्– तर के देश सिद्धान्ततः सर्वधर्म पथमा छ ?

अरे यार, बडो अचम्मको कुरा छ, जो धर्मलाई अफिमको नशासँग तुलना गर्दै त्याग्नयोग्य ठान्छन्, तिनै कमनिस्टहरू सत्तामा रहेको बेलामा त राज्य यो धर्म–तर्मको फन्डामा नलाग्नुपर्ने हो । तर कन्टिर–बाबू कुरो उल्टो देखिरहेका छन्, राज्य सुनियोजित तरिकाले धर्म प्रचारमा सक्रिय भएको रमिता हेरिरहेका छन् ।

धर्मनिरपेक्ष राष्ट्र भनिएको नेपालमा पछिल्ला वर्षमा तीनै तहका सरकारबाट धर्मका नाममा कति खर्च भए ? अस्पताल निर्माण तथा व्यवस्थापनमा कति खर्च भए ? भएको खर्च सार्वजनिक गर्ने हिम्मत छ सम्बद्ध निकायसँग ?

तीन तहको सरकारमा जो जहाँ बलियो छ त्यहाँ तत्–तत् धर्म प्रचारको कार्य जोडतोडले भइरहेको छ । धर्म प्रचारलाई सत्ता–राजनीति गर्ने माध्यमको रूपमा निःसङ्कोच प्रयोग भइरहेको छ । यसप्रति कन्टिर–बाबू असन्तुष्ट छन् ।

अरे, धर्म प्रचार गर्न पाउने स्वतन्त्रता आफ्नो ठाउँमा होला तर यसलाई भोटको राजनीतिसँग त जोड्नु भएन नि ! सरकारहरूले प्राथमिकता त निर्धारण गर्न सक्नुपर्‍यो नि !

कन्टिर–बाबू आग्रह गर्छन्– धर्मको बृहत्तर दर्शनमा सत्ता राजनीतिको छुद्रता मिसाएर धमिलो पार्ने काम कसैले पनि नगरौँ ।

सबै तहको सरकारले जनकल्याण र जनस्वास्थ्यभन्दा धर्म प्रचारलाई प्राथमिकतामा राखेको देख्दा कन्टिर–बाबूलाई अचम्म लागिरहेको छ । कन्टिर–बाबूले कुरो नबुझेका हुन् कि तीनै तहको सरकारको नेतृत्व गर्ने भनाउँदाहरूले नबुझेका हुन् ?

अहिले कोरोनाको दोस्रो लहर दैलामै आइपुग्दा पनि नखुलेको चेत कहिले खुल्छ ? कन्टिर–बाबूको यो सार्वजनिक प्रश्नको चित्तबुझ्दो जबाफ सरोकारवालाहरूसँग के छ ?

कन्टिर–बाबूको थप प्रश्न छ– धर्मनिरपेक्ष राष्ट्र भनिएको नेपालमा पछिल्ला वर्षमा तीनै तहका सरकारबाट धर्मका नाममा कति खर्च भए ? अस्पताल निर्माण तथा व्यवस्थापनमा कति खर्च भए ? भएको खर्च सार्वजनिक गर्ने हिम्मत छ सम्बद्ध निकायसँग ?

यसबाहेक कन्टिर–बाबूलाई शङ्का छ, कतै ओल्बा हिन्दु धर्म राष्ट्र पुनः प्राप्तिको मुद्दालाई आफ्नो आगामी चुनावी घोषणा–पत्रमा राख्न पृष्ठभूमि तयार गरिरहेका त छैनन् ?

यदि त्यसो हो भने कन्टिर–बाबू भन्छन्– जे गर्न खोजेको हो त्यो हाकाहाकी गरौँ । परिणाम जे होला त्यो समयले बताउला । कोसी अनलाइनबाट