डोटीमा मृत फेला परेकी महिलाको हत्या भएको आशंका

डोटीमा मृत फेला परेकी महिलाको हत्या भएको आशंका
Spread the love

डोटी, वैशाख ९ (ई-रैवार) 

डोटीमा मृत फेला परेकी महिलाको हत्या भएको आशंका गरिएको छ । डोटीमा मंगलबार कुहिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको हो ।

जिल्लाको डोटीको पूर्वीचौकी गाउँपालिका–१ सिर्मामा बेवारिसे अवस्थामा भेटिएको महिलाको शव आदर्श गाउँपालिका–१ बाँझककानी सालगाउँकी ४२ वर्षीय बसन्ती लुहारको रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले शव मृतक महिलाका आफन्तले पहिचान गरेको बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

घटना स्थलमा एउटा चस्मा, झोला, सल र महिलाको सुनको गहना भेटिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । घटना शंकास्पद भएकाले थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ।

मृत फेला परेकी महिला बैशाख २ गते घरबाट आँखाको उपचार गर्न भनि जिल्ला सदरमुकाम सिलगढी आएको र त्यही दिनबाट बेपत्ता भएको उनका आफन्त चक्र बिकले बताएका छन् ।

अस्पताल आएकी उनी सदरमुकाम भन्दा धेरै टाढाको जङ्गलमा मृत भेटिनु शंकास्पद रहेकोले हत्या भएको हुनसक्ने बिकले बताए । शव फेला परेको दिन मंगलबार ती महिलाको नम्बरमा फोन लागेको उनले बताए। फोन उठाउने मान्छेले सो फोन दैलेख परेको र सिमकार्ड फालेको अवस्थामा बच्चाले फेला पारेर आफुलाई दिएको बताएका छन् ।