काठमाडौं, वैशाख ५ (ई-रैवार)
गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । गृहमन्त्री थापा ‘बादल’को आजै राष्ट्रिय सभा सचिवालयले राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।
गत वैशाख ५ गते नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य बादलले दल त्याग गरेको सूचना संसद्मा पठाएको थियो । संसद् सचिवालयले आइतबार सूचना टाँस गरेर त्यसलाई स्वीकृत गरिएको जनाएको छ । योसँगै उनको गृहमन्त्री पद पनि गुमेको छ ।
“नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट २०७४ सालको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट निर्वाचित माननीय सदस्य रामबहादुर थापामगरले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम दल त्याग गरेको व्यहोरा जनाई उक्त पार्टीको संसदीय दलले निर्णय गरी दफा ३४ को उपदफा (२) बमोजिम प्रक्रिया अगाडि बढाइदिन भनी सोही दलका राष्ट्रियसभाका नेता माननीय दीनानाथ शर्माद्वारा लिखित पत्रका साथ संघीय संसद् सचिवालयमा मिति २०७७/१२/२७ गते सूचना प्राप्त भएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिम राष्ट्रियसभा सदस्य माननीय रामबहादुर थापामगरको पद रिक्त हुन आएकोले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट स्वीकृत भएबमोजिम यो सूचना प्रकाशित गरिएको छ,” पत्रमा उल्लेख छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
माओवादीको सूचनाअनुसार प्रतिनिधिसभाबाट माओवादीका ४ निर्वाचित सांसद समेतको पद गइसकेको छ । अर्को दलमा गएपछि दलत्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार माओवादीले कारबाही गरेको हो।
सांसद नरहेपछि संविधानतः मन्त्री पदबाट स्वतः मुक्त भए पनि प्रधानमन्त्री ओलीले थापालाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । किनभने यसअघि पदमुक्त भएका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई ओलीले मन्त्री पदमा पुनर्नियुक्त गरिसकेका छन् । सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउँछ ।



