काँग्रेस कैलालीको निर्वाचन : आज मत गणना हुँदै

Spread the love

धनगढी : नेपाली काँग्रेस कैलालीको मतगणना आज ११ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार नयाँ नेतृत्वका लागि आइतबार चुनावको मत गणना काँग्रेसको जिल्ला पार्टी कार्यालयमा आज बिहान ११ बजेदेखि सुरु हुने भएको हो।

धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ । सभापतिका लागि कांग्रेसको विधानअनुसार कुल खसेको मतमध्ये ५१ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुुनेछ ।

सभापतिका लागि देउवा समूहकै नारायण दत्त भट्ट र प्रकाशबहादुर बम प्रतिस्पर्धामा छन् । कोइराला समूहका रामबहादुर कलेल पनि चुनावी मैदानमा छन् । भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवार छन् ।

बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी छ ।

कोइराला पक्षका कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीको उम्मेदवारी छ ।

गत मंसिरमा निर्वाचन क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधिको मत गणना विवादका कारण ढिलो भएपछि कैलाली जिल्ला अधिवेशन हुन सकेको थिएन ।