जनकपुरधाम, चैत २९ (ई-रैवार)
सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्नमध्येका रामकृष्ण चौधरीलाई घटनास्थलबाटै र सूर्य सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
घटनामा संलग्नमध्येका जिल्ला सिरहा लहान नगरपालिका ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाटै फलामको छिनोसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।
यस्तै, लहान नगरपालिका २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई बिहान ४ बजेर ३० मिनेटमा पक्राउ गरिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिहरुले ४५ वर्षीय मिझारको धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी हत्या गरेका हुन् ।
टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरी छातीमा गोलीसमेत प्रहार गर्दा मिझार गम्भीर घाइते भएका थिए । उनलाई तत्काल लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिए पनि मृत्यु भएको सिरहा प्रहरीका प्रवक्ता शर्माले जानकारी दिए ।
लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिताकुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । उनको पनि सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
लहान नगरपालिका वडानम्बर २३ स्थित वडा अध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई मिझार दम्पती सुनचाँदी व्यवसाय गर्दै आएका थिए । घरको पछाडिपट्टिको भागबाट भर्याङ लगाई घरको छतमा चढी छतको ढोका प्रयोग गरी भुईं तल्लामा झरेर फलामको हम्मर र फलामको छिनोले ढोका फोडेर ६/७ जना लुटेरा समूह भित्र प्रवेश गरेका थिए । घरभित्र प्रवेश गरेका उनीहरुको प्रतिकार गर्ने क्रममा सुनचाँदी व्यवसायीको हत्या भएको प्रहरीले जनाएको छ ।


