काठमाडौं, चैत्र १ (ई-रैवार)
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा नाम फेर्ने प्रस्तावमा छलफल भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो ।
बैठकको तेस्रो एजेण्डामा रहेको पार्टीको नाम फेर्ने प्रस्तावमा अहिले छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । माओवादी केन्द्र पुनर्स्थापित भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव राखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । सँगै, पार्टी एकता पनि बैठकको एजेण्डामा राखिएको छ ।
आइतबार मध्यान्हदेखि पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको केन्द्रीय समितिको बैठकमा पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने कि नेकपा (समाजवादी) राख्ने भन्ने विषयमा औपचारिक रुपमा छलफल अघि बढाइएको हो ।
केन्द्रीय समितिमा आवश्यक छलफलपछि आजै पार्टीको नाम परिवर्तन गर्ने निर्णय हुनसक्ने नेताहरुले बताएका छन् । माओवादीले अन्य पार्टीबाट आफ्नो पार्टीमा आउनेहरुलाई सहज हुनेगरी दलको नाम परिवर्तन गर्न लागेको हो ।कतिपयले भने माओवादी ब्राण्ड छाड्न नहुने अडान पनि लिएका छन् ।
बैठकमा वर्तमान राजनीतिक स्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जहरुले धारणा राख्ने पनि एजेण्डामा उल्लेख छ । संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासनसम्बन्धी विषय पनि एजेण्डामा छ । यो बैठकले कार्यकर्ता भेलाबारे पनि निर्णय गर्ने भएको छ । सोमबारका लागि तय भएको राष्ट्रिय भेला स्थगित गरिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो । तर, गत फागुन २३ गते सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।


