काठमाडौं, असोज १४ (ई-रैवार)
नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाइ हुँदैछ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य र मन्त्री बन्न अयोग्य रहेको भन्दै दायर भएको रिटमा आज संवैधनिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको योग्यतामा प्रश्न उठाउँदै असोज ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउँदै दायर रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमकमे मुद्दामा गम्भीर संवैधानिक प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउने र निवेदकले गौतमको नियुक्ति बदर माग गरेकामा किन अन्तरिम आदेश जारी नहुनुपर्ने भन्दै जवाफ पेस गर्न आदेश गरेको थियो ।
राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।


