काठमाडौँ, फागुन २८ (ई-रैवार)
नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।
एमाले अध्यक्ष ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको छ ।
ओली पक्षीय केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् । यसअघि उक्त जिम्मेवारीमा अष्टलक्ष्मी शाक्य थिइन्। थापासँगै एमालेमा गएका २२ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
आजको बैठकले मंसिर २-६ गतेसम्म पार्टीको १०औं महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए । स्थान भने तय नभएको उनले बताए । बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।
सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।
बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।
एमालेको २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो। त्यतिबेला उपाध्यक्षमा विद्या भण्डारी, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल चुनिएका थिए।
त्यस्तै महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट निर्वाचित भएका थिए।
प्रदेश इन्चार्जहरू सत्यनारायण मण्डल (प्रदेश २), पृथ्वीसुब्बा गुरुङ (गण्डकी) र शंकर पोखरेल (लुम्बिनी) कायमै छन्। उनीहरु ओली पक्षका नेताहरु हुन्। बैठकले तत्काली नेकपा दुई समूहमा विभाजित आफ्नो समूहले गरेको सबै नियुक्तिलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।
त्यस्तै ओली पक्षीय केन्द्रीय कमिटी बैठकबाट सातवटा प्रदेशका अध्यक्ष परिवर्तन गरेका छन् । नवनियुक्त अध्यक्ष-सचिवमा एकजना पनि झलनाथ-माधव पक्षका छैनन् ।
आजको बैठकले मंसिर २-६ गतेसम्म पार्टीको १०औं महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए । स्थान भने तय नभएको उनले बताए ।
उनका अनुसार प्रदेश १ को अध्यक्ष देवराज घिमिरे, सचिवमा विनोद ढकाल, प्रदेश २ को अध्यक्षमा प्रभु साह, सचिवमा सुमन प्याकुरेल छन् ।वाग्मती प्रदेशको अध्यक्षमा आनन्द पोखरेल, सचिव खेम लोहनी, गण्डकीको अध्यक्षमा जगत विश्वकर्मा सचिवमा गोविन्द नेपाली छन् ।
त्यस्तै लुम्बिनीको अध्यक्षमा लीला गिरी, सचिवमा खेममान खड्का, कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह चयन भएका छन् भने सचिवमा धर्मराज रेग्मी चयन गरिएको छ । सुदूरपश्चिमा कर्ण थापा र सचिवमा कञ्चनपुरका राजेन्द्रसिंह रावललाई चयन गरिएको छ ।


