‘उखु नमूना गाउँ’ कार्यक्रमबाट कञ्चनपुरका ४ सय किसान लाभान्वित

‘उखु नमूना गाउँ’ कार्यक्रमबाट कञ्चनपुरका ४ सय किसान लाभान्वित
Spread the love

कञ्चनपुर,फागुन २० (ई-रैवार) 

कञ्चनपुरको दक्षिण क्षेत्रका ४ सय घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् ।

यहाँको कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षदेखि यहाँको बेल्डाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी र पुर्नबास नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । “छनोट गरिएका पालिकामा एउटा पालिकामा १०० घरधुरी किसान छनोटमा परेर उक्त कार्यक्रमअन्तर्गत उखुखेती गरिरहेका छन्”, कृषि ज्ञान केन्द्रका कृषि अधिकृत तथा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम संयोजक रणबहादुर मल्लले भने , “चारवटा पालिकामा ४ सय किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।”

दक्षिण क्षेत्रमा लामो समयदेखि उखुखेती गर्दै आएको भए पनि उखु नमूना गाउँ कार्यक्रम सञ्चालनमा आएपछि थप उत्साहका साथ किसान त्यसतर्फ अग्रसर भएका छन् । नमूना गाउँअन्तर्गत किसानले यहाँ १५ हजार बिघामा उखुखेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । “चारवटै पालिकाका लागि यान्त्रिक, सिँचाइ र बीउ खरिदका लागि वार्षिक रु दुई करोड रकम विनियोजन भएको छ”, संयोजक मल्लले भने , “कार्यक्रममा समेटिएकाभन्दा अन्य किसान पनि सो क्षेत्रमा व्यावसायिकरूपमा उखुखेती गरिरहेका छन्।”

कार्यक्रमअन्तर्गत कृषि समूह समन्वय समिति गठन गरिएको छ । उखु किसानलाई सिँचाइमा ८० प्रतिशत र बीउबिजन खरिद र यान्त्रिक औजारमा ५० प्रतिशत अनुदान दिने गरिएको छ । “निवेदनअनुसार छनोट भएका किसान यहाँ उखुखेती गरिरहेका छन्”, उनले भने, “उखु नमूना गाउँ कार्यक्रमले बस्तीमा किसान झन् सक्रिय भएका छन् ।”

उनले एमरेड नामक संस्थाले ज्ञान केन्द्रसित समन्वय गरेर किसानलाई यान्त्रिक औजार खरिदमा ५० प्रतिशत अनुदान वितरण गरिरहेको जानकारी दिए । कञ्चनपुरको दक्षिण क्षेत्रमा दुईवटा चिनी मिल र सयौँ स–साना गुड उद्योग सञ्चालनमा छन् । रासस