काठमाडौं, पुस १९ (ई-रैवार)
नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको छ । प्रचण्ड-माधव समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो ।
नेकपा प्रचण्ड-माधव समूहको पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टीको कार्यविभाजनलाई पूर्णता दिन अध्यक्ष नेपालको नेतृत्वमा १० सदस्यीय कार्यदल गठन गरेको हो ।
उक्त कार्यदलमा गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, मातृका यादव, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत सदस्य रहेका छन् ।
पार्टी विभाजनतर्फ गएपछि पार्टीका विभिन्न समितिमा अध्यक्ष, सचिव, इन्चार्जलगायत जिम्मेवारी सम्हालेका नेताहरु दुईतर्फ बाँडिएपछि रिक्त रहेका पदमा कार्यदलले नेता चयन गर्ने बताइएको छ ।
गठित कार्यदलले नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । ‘यो कार्यदलले चार/पाँच दिनभित्र कहाँ–कहाँ, क-कसलाई जिम्मेवारी दिने हो भन्ने सिफारिस गर्छ’, भट्टराईले भने ।


