काठमाडौं, पुस १९ (ई-रैवार)
नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्न चीनको सक्रियता खुलिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ यचौ छ सदस्यीय टोली लिएर चार दिन नेपाल बस्नुको उद्देश्य यही थियो । तर, उनी आउनुभन्दा केही दिन अघि नै चिनियाँ टोली नेपाल आइसकेको खुलासा भएको हो ।
भारतीय पत्रिका द हिन्दुस्तान टाइम्स तीनजनाको संख्यामा चिनियाँ टोली सडक मार्गबाट नेपाल प्रवेश गरेको खुलासा गरेको हो । कोरोना भाइरसको जोखिमका कारण चीनबाट हवाई उडान बन्द भएकाले उक्तक टोली सडकमार्गबाट उत्तरतर्फबाट प्रवेश गरेको थियो । तिब्बत हुँदै नेपाल प्रवेश गरेको टोलीले गोप्य भेटहरु गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
यचौको टोली आइतबाट चाटर्ड विमानबाट आएर बुधबार फर्किएको थियो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एउटा पक्षका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, पूर्व सभामुख कृष्णबहादुर महरालगायतलाई भेटेको थियो । चिनियाँ दूतावासमा जर्नादन शर्मा र डा. राजन भट्टराईलाई डाकेर एकताको सूत्रबारे छलफल गरेको थियो । यसलाई चीनको देखिएको सक्रियताको रुपमा लिइएको छ ।
हाल नेकपाका नेताहरुसँग वार्ता गर्ने काम सडक मार्ग हुँदै काठमाडौं आइपुगेको तीन सदस्यीय टोलीलाई दिइएको नेपालस्थिति चिनियाँ स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु जेकुन लाई, डोङमी हुआङ र योङलिन झोङले नेकपाका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।
तर, चीनले पछिल्लो समय छद्म भेषमा सक्रियता बढाउँदै लगेको छ । नेकपा विवाद मिलाउन पनि छद्म टोली सक्रिय भएको थियो । उनीहरुले गोप्य रुपमा नेपालका राजनीतिक दलका नेतासँग सम्पर्कमा रहेर काम गर्दै आएका थिए । हिन्दुस्तान टाइम्सले उनीहरु गोप्य रुपमा पाछाडिबाट काम गर्दै आएको खुलासा गरेको छ । नेपालका राजनीतिक दल र नेताहरुमाथि प्रभाव बनाउन उनीहरुलाई योजनावद्ध तरिकाले तयार गरेर गोप्य रुपमा सक्रिय बनाइएको थियो ।
नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बढेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । तर, पनि चिनियाँ हस्तक्षेप भने अझै रोकिएको छैन । तत्कालीन माओवादी र एमालेबीचको एकतादेखि सुरु भएको हस्तक्षेप पछिल्लो समय कूटनीतिक मर्यदाका सम्पूर्ण मापदण्डहरु उल्लंघन गर्दै काठमाडौंमा चिनियाँ दौडधुप चलिरहेको छ ।


