दाङ, पुस १६ (ई-रैवार)
डली भट्टको आक्रामक ब्याटिङमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा वाग्मती प्रदेशसामु बलियो लक्ष्य प्रस्तुत गरेको छ । युवा हिटर डली भट्ट चम्कँदा लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को निर्णायक खेलमा सुदूरपश्चिमले बागमतीलाई ७७ रनको बलियो लक्ष्य दिएको हो ।
देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन जोडे । सुदूरपश्चिमकी डली भट्ट १४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २८ रन अविजित रहिन् ।
डलीलाई ११ औं ओभरको पहिलो बलमा कप्तान अस्मिना कर्मचार्यल बोल्ड आउट गरेपनि नो बलका कारण जीवनदान पाएकी थिइन् । व्यक्तिगत १५ रनमा आउट भएर पेभिलिएन तर्फ फर्केकी डलीले त्यसपछि तेस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै टोलीलाई बलियो योगफलमा पुर्याइन् ।
तेस्रो ओभरको चौथो बलमा स्पिनर निशा तामाङले ओपनर रेवती धामीलाई २ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । छैटौं ओभरको दोस्रो बलमा स्पिनर आरती बिडारीको बलमा ओपनर मन्जु बोगटी ५ रनमा एलबिडब्लू आउट हुन पुगिन् ।
लगत्तै अर्को बलमा कप्तान विन्दु रावल कट एण्ड बोल्ड भइन् आउट भएकी थिइन् । ह्याट्रिक बलको सामना गरेकी कविता जोशीले डीप मिडविकेटमा उत्कृष्ट छक्का प्रहार गरेकी थिइन् । आरतीलेनै नवौं ओभरको दोस्रो बलमा कवितालाई सुजिता थापाबाट १२ रनमा क्याच आउट गराइन् । जोशीले १२ बलमा १ छक्का प्रहार गरिन् ।
कविता कुवँर ३० बलमा १ चौका सहित १९ रनमा अविजित रहिन् । स्पिनर आरती विडारीले २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । निसा तामाङले १ विकेट लिइन् ।


