मुख्यमन्त्रीलाई कारबाही, संसदीय दलको नेतामा भीम आचार्य

मुख्यमन्त्रीलाई कारबाही, संसदीय दलको नेतामा भीम आचार्य
Spread the love

काठमाडौं, पुस १६ (ई-रैवार)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको क्रममा रहेको अवस्थामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई कारबाही गरिएको छ ।

नेकपाको अर्को समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपला समूहले बिहीबार प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई कारबाही गर्दै संसदीय दलको नेताबाट हटाएको हो ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई दलको नेताबाट हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए ।

यसअघि प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध कारबाही गर्दै संसदीय दलको नेताबाट हटाएको थियो । वाग्मती प्रदेशको नेकपाको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजनतर्फ गएको हो । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् ।