एजेन्सी, पुस १४ (ई-रैवार)
खराव लयमा रहेको लन्डन क्लब चेल्सी र लेस्टर सिटी बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदानमा एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा लिएको अग्रा जोगाउन नसक्दा चेल्सीले एस्ट भिल्लासँग अंक बाड्न बाध्य बनेको हो । पछिल्लो ५ खेलमा चेल्सीको यो पहिलो बराबरी हो । जसमा ३ हार र १ जितको नतिजा निकालेको छ ।
स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा घरेलु टोली चेल्सीले खेलको ३४औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट अग्रता लिएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए । ५०औं मिनेटमा अनवर इल घाँजीले गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याए । उनले माटी कासको पासमा गोल गरेका थिए ।
घरेलु टोली चेल्सीले ६४ प्रतिशत बल पोसेसन राखेपनि पुनः आक्रमणमा चुक्दा बराबरीमा रोकिन बाध्य बन्यो । प्रशिक्षक फ्रान्क लाम्पार्डले लयमा नरहेका जमैन फरवार्ड टिमो वेर्नर र मिडफिल्डर काई हार्भटजलाई दोस्रो हाफमा मैदानमा उतारेपनि जित निकाल्न सकेन । वेर्नरले पछिल्लो ९ खेलमा गोल गर्न सकेका छैनन् ।
यो बराबरीले चेल्सी १६ खेलबाट २६ अंक जोडेर छैटौ स्थानमा उक्लदा १४ खेल खेलेको भिल्लाले पनि २६ अंक जोडेर गोल अन्तरमा पाँचौ स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा लेस्टर सिटी क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकिएकोृ छ । क्रिस्टल प्यालेसका वेलफ्रेड जाहाँले गोल गर्दा लेस्टरका हार्भे बार्नेसले बराबरी गोल फर्काएका थिए ।
यो बराबरीले लेस्टर १६ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लदा प्यालेस १९ अंकसहित १३औं स्थानमा छ । शीर्षस्थानको लिभरपुलको ३२ तथा तेस्रो स्थानको एभर्टनको २९ अंक छ ।


