काठमाडौं,पुस १४ (ई-रैवार)
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज देशैभर प्रदर्शन, जुलुसको आयोजना गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोध जनाउँदै आन्दोलनरत नेकपा अध्यक्ष प्रचण्ड र नेपाल समूहले मंगलबार देशैभर प्रदर्शन, जुलुसको आयोजना गर्ने भएको हो ।
काठमाडौं उपत्यकामा विभिन्न ८ स्थानबाट जुलुस निस्कने अनेरास्ववियू प्रचण्ड–नेपाल समूहका संयोजक रञ्जित तामाङले जानकारी दिए । मंगलबार बिहान ११ बजेदेखि देशैभर प्रदर्शन हुने नेकपाकाले जनाएका छन् ।
नेकपाले आजको प्रदर्शनमा काठमाडौंमा मात्रै एक लाख मानिस उतार्ने तयारी गरेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यसअघि नै बताइसकेका छन् । आजको प्रदर्शनका लागि उपत्यकाका आसपासका जिल्लाहरूमा गरिने प्रदर्शन पनि काठमाडौं नै केन्द्रित गरिएको छ ।
भृकुटीमण्डपमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।


