काठमाडौं, पुस ४ (ई-रैवार)
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।
प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा ओली र प्रचण्डबीच पार्टीभित्रको विवादका विषयमा छलफल भएको बताइएको छ । पाटीको संकट गहिरिँदै गएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका छन् ।
सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका हुन् । अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा छन् ।
ओली खुमलटार पुगेपछि नेकपा बरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास पुगेका छन् । खुमलटारमा प्रधानमन्त्री ओली र प्रचण्डवीच कुराकानी हुँदै गर्दा केहीबेरमा उपाध्यक्ष वामदेव गाैतम पनि पुगेका थिए ।
ओली फर्किएपछि प्रचण्ड, बरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमबीच कुराकानी भैरहेको छ। पार्टीभित्रको संकट गहिरिँदै गएपछि नेकपा नेताहरुले छलफल तिव्र पारेका छन् ।


