बर्दिवास, मंसिर १० (ई–रैवार)
बालिका हत्याको विषयलाई लिएर महोत्तरीको बर्दिवासमा आज पनि स्थानीयले प्रदर्शन गरेका छन्। हिजो मंगलबारको प्रदर्शन अनियन्त्रित भएपछि स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो। तर, निषेधाज्ञाका बाबजुद प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले हिजो गोली नै चलाएको थियो। गोली लागेर तीनजना घाइते भएकोमा आज बिहानै एकजनाको मृत्यु भएको छ। त्यसपछि विरोध झन् चर्किएको हो।
प्रदर्शनकारीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजी गरिरहेको बताइएको छ।
प्रदर्शनकारीले प्रहरीको गोलीबाट मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउन निर्देशन दिने अधिकारीलाई कारवाही गर्नुपर्ने, बालिकाका हत्यारालाई कडा कारवाही हुनुपर्ने लगायतका माग राखेका छन्।
बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको गत सोमबार हत्या भएको थियो। हत्याको आरोपमा स्थानीय अरुण साह पक्राउ परेको छ ।
आइतबारदेखि बेपत्ता भएकी बर्दिबास ५ की ६ वर्षीया बालिका गुलाश खातुनलाई करणी गरी हत्या गरिएको भन्ने खबर बाहिरिएपछि मंगलबार बर्दिबास क्षेत्रमा तनाव सुरु भएको थियो । स्थानीयले घटनाका आरोपीको घरमा आगजनीदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्नेसम्मको विरोध प्रदर्शनमा उत्रिएपछि प्रहरीले भिड नियन्त्रणमा लिन गोली चलाएको थियो । सोही गोली लागेर एकजनाको मृत्यु भएपछि तनाव थप जटिल भएको हो ।
प्रहरीले मंगलबार चलाएको गोली लागेका स्थानीय बुद्धिराज (सञ्जय) न्यौपानेको उपचारका क्रममा राति १ बजे काठमाडौंस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको छ । उनको मृत्युपछि अवस्था थप आक्रोशित भएको छ । स्थानीयको आक्रोशलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
तर, अवस्था अझै समान्य हुने संकेत नदेखिएपछि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञाको अवधि लम्ब्याएको बर्दिबास इलाका प्रहरी कार्यालयका इन्चार्ज डीएसपी राजन चापागाईंले जानकारी दिए ।


