नेकपा उपाध्यक्ष गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने

नेकपा उपाध्यक्ष गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने
Spread the love

काठमाडौं, कार्तिक २६ (ई-रैवार) 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । उपाध्यक्ष गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

गौतमविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँचजना न्यायाधीशको संवैधानिक इजलासले हेरिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदरको माग गर्दै रिट दिएका थिए । उनले गौतमलाई मन्त्री बन्न रोक्नुपर्ने माग पनि गरेका थिए ।

सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । आजको सुनुवाइपछि गौतम मन्त्री बन्ने या नबन्ने बाटो खुल्नेछ भने गौतमको मुद्दा फैसलापछि नेकपामा देखिएको विवादले पनि फरक बाटो लिन सक्ने नेताहरु बताउँछन् ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा  बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएका छन् ।