डोटीमा भालुको आक्रमणबाट एक बालक घाइते

डोटीमा भालुको आक्रमणबाट एक बालक घाइते
Spread the love

डोटी, कार्तिक २२ (ई-रैवार)

डोटीमा भालुको आक्रमणबाट एक बालक घाइते भएका छन्  । भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको छ । बालकको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । पाखुराको दुवैतिर शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डा. सोहम शाहले बताए ।

घाइते बालकका बुबा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो । यस वडामा वर्षेनी भालुले आक्रमण गर्ने गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जबाट आउने भालु, बँदेलको आक्रमणका कारण जिल्लामा वर्षेनी केहीको मृत्यु हुने गरेको छ ।