काँग्रेसको अनौपचारिक बैठक सुरु, पार्टी विवाद मिलाउन अन्तिम गृहकार्य

काँग्रेसको अनौपचारिक बैठक सुरु, पार्टी विवाद मिलाउन अन्तिम गृहकार्य
Spread the love

काठमाडौं, कार्तिक २२ (ई-रैवार)

नेपाली काँग्रेसका वर्तमान तथा पूर्व पदाधिकारी केही केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक सुरु भएको छ । काँग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीका र गुटगत आधारमा बोलाइएको केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक सुरु भएको हो ।

पार्टीभित्रको विवाद मिलाउन पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अनौपचारिक बैठक सुरु गरेका हुन । पार्टी विवाद मिलाउन आजको बैठकमा अन्तिम गृहकार्य भइरहेको काँग्रेस नेता तथा केन्द्रीय सदस्य एनपी साउँदले जानकारी दिएका छन् ।

विवादका विषयमा नेताहरूले गुटगत रुपमा धारणा राख्दै आएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएको १६ बुँदे ज्ञापनपत्रकै पक्षमा धारणा राखिरहेका छन् ।

यता संस्थापन पक्षीय नेताहरुको भने ज्ञापनपत्रमा उठाइएका विषयहरूको प्रतिवाद जारी छ । पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीत निर्णय भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको थियो ।

तर संस्थापन पक्षले भने सबै निर्णय विधान सम्मत भएको बताएको थियो । यस्तै बैठकमा पार्टीको १४ औं महाधिवेशनका सम्बन्धमा पनि छलफल भएको थियो । केन्द्रीय समितिको बैठक अगावै विवाद मिलाएर केन्द्रीय समितिमा महाधिवेशनबारे छलफल गर्नुपर्ने सभापति देउवाको तयारी छ ।

पौडेल पक्षले आफूहरूले उठाउँदै आएका माग सम्बोधन नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा अनुपस्थित हुने अडान लिएको छ ।विवादित विषयमा सहमति र पार्टीभित्र विश्वासको वातावरण बनाउन छलफललाई निरन्तरता दिएको बुझिएको छ । छलफलबाट सहमति जुटाएर कात्तिक २४ गतेको केन्द्रीय कार्यसमिति बैठकमा जाने संस्थापन पक्षको तयारी छ ।

महाधिवेशनको कार्यतालिका संशोधन, संसदको विशेष अधिवेशन बोलाउने, म्याद सकिएका भ्रातृ संस्थाको थपिएको समय अनुमोदनलगायतका विषयलाई केन्द्रीय समिति बैठकको एजेन्डाका रुपमा राखिएको छ ।