आइपिएल : दिल्लीलाई एक रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा

आइपिएल : दिल्लीलाई एक रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा
Spread the love

एजेन्सी, वैशाख १५ (ई-रैवार)

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मंगलबार भएको खेलमा रोयल च्यालेन्जर बैंग्लोरले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको छ ।

रोमाञ्चक जितसँगै बेंगलोर शीर्षस्थानमा उक्लिएको छ । नरेन्द्र मोदी स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाएको थियो ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रन बनायो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १४ रन चाहिएको थियो ।

मोहम्मद शिराजले १२ रन खर्चिदै रोमाञ्चक जित दिलाएका हुन् । सुरुवाती दुई बलमा योर्करका साथ शिराजले १–१ रन दिए । तेस्रो बलमा पन्तलाई बल डट राखेपछि बेंगलोरको सम्भावना बढेको थियो । चौथो बलमा पन्तले दुई रन बटुलेका थिए । अन्तिम दुई बलमा १० रन चाहिँएको थियो । ऋषभ पन्तले लगातार दुई चौका प्रहार गरेपनि टोलीको झिनो हार टार्न सकेनन् ।

दिल्लीका कप्तान ऋषभ पन्त ४८ बलमा ६ चौका ५८ रनमा अविजित रहे । शिम्रन हेटमायर २५ बलमा २ चौका र ४ छक्का सहित ५३ रनमा अविजित रहेपनि टोलीलाई जिताउन सकेनन् ।

हेटमायरले ब्यक्तिगत १५ रनमा क्याच ड्रप हुँदा जीवनदान पाएका थिए । काइल जामिसनको १६ औं ओभरको पहिलो बलमा लङअनमा देवदत्त पाडिक्कलले क्याच ड्रप गरेका थिए ।

तीव्र गतिका बलर काइल जामिसनले तेस्रो ओभरको तेस्रो बलमा ओपनर शिखर धवनलाई युजभेन्द्र चहलबाट ६ रनमा क्याच आउट गराएका थिए । एक ओभरपछि मोहम्मद शिराजले स्टिभ स्मिथलाई ४ रनमा एवि डिभिलियर्सबाट क्याच गराउँदै पेभिलिएन फर्काए । ओपनर पृथ्वी शालाई हर्षल पटेलले २१ रनमा क्याच आउट गराए । शाले १८ बलमा ३ चौका प्रहार गरे । मार्कस स्टोइनिस १७ बलमा ३ चौका सहित २२ रनमा क्याच आउट भए ।