काठमाडौं, कार्तिक २२ (ई-रैवार)
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालय बैठकको आग्रहका लागि पुगेका सचिवालयका पाँच सदस्य बीच चर्काचर्की भएको छ । बालुवाटार बैठकमा सहभागी नेताहरुका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठक बोलाउन सहमति नभएपछि चर्काचर्की भएको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग सहमति मागे गरेका थिए ।
प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बस्नुपर्ने बताएका हुन् । ‘हामीले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लिखित रुपमा सचिवालय बैठकका लागि सहमतिका निम्ति आग्रह गरेका छौं’ भेटपछि नेकपा प्रवक्ता श्रेष्ठले भनेका छन् ।
ओलीको भनाई उद्धृत गर्दैै एक नेताले दिएको जानकारी अनुसार “तपाईँहरु गुटबन्दी गर्दै हिँड्नुभएको छ,” ओलीको जवाफ थियो, “अहिले केका लागि बैठक बोलाउने ? मैले बैठक बोलाउँदिनँ ।” ओलीले धुम्बाराही र पेरिसडाँडामा बसेर गुटबन्दी गरिरहेको बताएका थिए ।
पाँचजना सचिवालय सदस्यहरुले औपचारिकरुपमा नै लिखित पत्र बुझाएका थिए । त्यसअघि धुम्बाराहीमा बिहान दुईघण्टा छलफल गरेर नेताहरु बालुवाटार पुगेका थिए ।
कोभिड-१९ को संक्रमण र त्यसले पैदा गरेको स्वास्थ्य तथा आर्थिक संकट, स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा र पार्टीमा उत्पन्न संकटबारे छलफल गर्न सचिवालय बैठक बोलाउनुपर्ने प्रचण्डसहित पाँच नेताको धारणा छ ।
कार्यकारी अध्यक्ष् प्रचण्डले बारम्बार आग्रह गर्दा पनि बैठक हुन नसकेको भन्दै नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष ओलीले बैठकबारे आज निष्कर्ष दिनु भएको छैन । हामीले सकभर भोलि नै, नभए पर्सिसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौं भनेका छौं, प्रवक्ता श्रेष्ठले बताएका छन् ।
फाईल तस्विर


