आज दशैँको चौथो दिन : मान्यजनबाट टीका र जमरा लगाइँदै

आज दशैँको चौथो दिन : मान्यजनबाट टीका र जमरा लगाइँदै
Spread the love

काठमाडौँ, कार्तिक १३ (ई-रैवार)

आज दशैँको चौथो दिन पनि मान्यजनका हातबाट टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज चौथो दिन पनि टिका लगाइँदैछ । बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ ।

सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम आज आश्विन शुक्ल त्रयोदशीको दिन पनि जारी छ । यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केही मानिसले कात्तिक महिनामा परेको दसैँमा टीका लगाउनुहुन्न भनी सामाजिक सञ्जाललगायत माध्यमबाट चलाएको हल्लामा कुनै शास्त्रीय सत्यता नरहेको समितिको ठहर छ । समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले चान्द्रमासअनुसार अहिले पनि आश्विन शुक्ल पक्ष नै रहेकाले त्यस्तो हल्लाका पछि नलाग्न सबैमा आह्वान गरे । “हाम्रा चाड पर्व, तिथि, श्राद्ध चान्द्रमासअनुसार मनाइन्छ, यसैले अहिले कोजाग्रत पूर्णिमासम्म कोरोना भाइरस सङ्क्रमण नफैलने गरी सुरक्षित रुपमा टीका ग्रहण गर्न शुभ छ, सौरमास अनुसार कात्तिकमा दसैँ परेको यो पहिलोपटक होइन, यस वर्षमात्र किन यसरी हल्ला गरियो ? यसको खोजी गर्नु जरुरी छ, भ्रमको पछि नलागौँ,” उनले भने ।

पछिल्लो समय मौलिक संस्कृतिमाथि आक्रमण गर्ने चलाइने यस्ता हल्लाका पछि नलागी सांस्कृतिक पर्वको शास्त्रीय मान्यता बुझेर त्यसअनुसार अघि बढ्न धर्मशास्त्रविद्हरुले आममानिसमा आह्वान गरेका छन् । वैदिक सनातनी परम्परामाथि भ्रम फैल्याउन विगत केही वर्षदेखि मौलिक धर्म, संस्कृति लक्षित हल्ला चलाउने क्रम जारी रहेकाले सचेत हुन नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईको भनाइ छ ।