दार्चुला, श्रावण ५ (ई-रैवार)
दार्चुलामा पहिरोले घर भत्किदा दुई जनाको मृत्यु भएको छ । हिजोराती भारी बर्षका कारण नौगाड गाउँपालिकामा पहिरोले घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु भएको हो ।
घर माथिबाट खसेको पहिरोले घर च्यापिँदा नौगाड गाउँपालिकाको वडा नम्बर ६ की ४२ बर्षिया मानमति ठगुन्ना र ६ बर्षिया बालिका पार्वती ठगुन्नाको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घर माथिबाट आएको पहिरोले घरको सम्पुर्ण सामान नष्ट भएको छ । पहिरोमा परी चार जना घाइते भएका छन । पहिरोमा परेका घाइते चार जनालाई गाउँलेले तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ । पहिरोले सो गाउँका चार घर र परिगाउँ प्राथमिक विद्यालयको भवन समेत बगाएको छ ।
भारी बर्षका कारण नौगाड गाउँपालिकामा ठूलो क्षति पुगेको छ । वडा नम्बर २ कोे नौगाड खोला, घट्टे खोला र खार खोलामा रहेका १० वटा पानी घट्ट, दुई चिया पसल र १ सय किलोवाटको नौगाड लघु जलविद्युत आयोजनाको प्रशारण लाइनका १ सय २० विजुलीका खम्बाहरु बाढीले बगाएको स्थानियले बताएका छन ।
बर्षाका कारण धौलीगाड, ठाडो खोलामा आएको बाढीले महाकाली राजमार्ग समेत अबरुद्ध रहेको छ । सदरमुकाममै महाकाली नगरपालिका –२ को नमस्कार गाउँ र गल्फैंको बीचमा बग्ने सो खोलाको बाढीले राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।


