टीकापुरमा महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

टीकापुरमा महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन
Spread the love

कैलाली,  कार्तिक १२ (ई-रैवार)

टीकापुर ५, नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी २० हजार बढी हुन्छ । विगतमा गृहणीका रुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी हुन् । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने योजना बनाइन् । ‘‘दुई भैँसी पालेर घाँस खेती पनि गरेकी छु,’’ नेहा भन्‍छिन्, ‘‘दुई भैँसीको साँझ-बिहानको दैनिक १२ लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको छ ।’’

मिहिनेत र परिश्रम गरे सफलता र सन्तुष्‍टि प्राप्त हुने उनी बताउँछिन् । ‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लाग्यो,’’ उनले भनिन्, ‘‘भैँसीले दूध दिन छाडे टीकापुरमै रहेको हाटबजारमा लगेर बेच्छु, अनि दुहुनो भैँसी किन्छु ।’’

भैँसीपालन टीकापुरलगायत क्षेत्रका गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको छ । घरमा बसेर व्यावसायिक रुपमा भैँसीपालन गर्न थालेपछि यस क्षेत्रका महिलाले मनग्ये आम्दानी गरिरहेका छन् । टीकापुर नगरपालिका वडा ३ की तारा सुनारले पनि मासिक १२ हजार रुपैयाँसम्म आम्दानी लिइरहेकी छन् । ‘‘दूध  बेचेको आम्दानीले घर राम्रै चलेको छ,’’ उनी भन्छिन्, ‘‘म पनि व्यस्त हुन्छु, काम पाइनँ भन्‍ने तनाव पनि छैन ।’’

बजारमा दूधको माग बढिरहेको छ । बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण महिलाहरु यसतर्फ आकर्षित भएका हुन् । महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचतसमेत गर्दै आएका छन् । वडा ३ कै चन्द्रा ओडको पनि मासिक आम्दानी १२ देखि १५ हजार रुपैयाँसम्म हुन्छ । ‘‘आम्दानीको केही अंश घरखर्चमा मासिन्छ,’’ उनले भनिन्, ‘‘समूह र सहकारीमा मासिक बचत गरिरहेकी छु ।’’

स्थानीय दुग्ध उत्पादक सहकारी संस्था, कृषि विकास बैँक तथा अन्य लघुवित्तबाट भैँसी खरिदका लागि स्थानीय किसानलाई ऋण उपलब्ध भएपछि गृहिणी महिलालाई भैँसीपालन गर्न सहज भएको हो । देउराली भञ्‍ज्‍याङ कृषि सहकारीका प्रबन्धक आशा चौधरी सहकारीले अहिलेसम्म १६ महिलालाई अनुदान सहितको ऋण भैँसीपालनका लागि दिएको बताउँछन् ।

टीकापुर नगरपालिकाले पनि यसरी व्यावसायिक रुपमा भैँसी तथा बङ्गुरपालन गर्न चाहनेलाई यस वर्ष पाडापाडी र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम राखेको छ । किसानका मागअनुसार यसवर्ष ७५ प्रतिशत अनुदानमा पाडा र बंङ्गुरका पाठा खरिद गरेर दिने पशु शाखा प्रमुख श्यामराज पाण्डेले जानकारी दिए ।

रासस