काठमाडौं, कार्तिक २ (ई-रैवार)
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै आफू अघि बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आइतबार निवासमा भएको सामूहिक भेटमा सञ्चारमन्त्री गुरुङ सो कुरा बताएका हुन ।
नवनियुक्त सञ्चारमन्त्री गुरुङले कोरोना भाइरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायत सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सारेको बताएका छन् ।
नेपाल पत्रकार महासंघका पदाधिकारीसँग पुल्चोकस्थित निवासमा भएको सामूहिक भेटमा सञ्चारमन्त्री गुरुङले महासंघलगायत सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै सञ्चार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे ।
‘‘सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’’ उनले भने, ‘‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने विश्वास लिएको छु ।’’
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाइरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी सञ्चार क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ नगर्न ध्यानाकर्षण गराएका थिए ।


