धनगढी, कार्तिक २ (ई-रैवार)
धनगढीको मोहना नदी किनारमा मृत भेटिएका प्रहरी सहायक निरिक्षक गोपिन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा बिकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको निष्कर्ष निकालेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले प्रारम्भीक अनुसन्धानका क्रममा असई बिकको हत्या गरी नदीमा शव फालिएको खुलेको बताए । प्रहरी वरिष्ठ उपरिक्षक सिहले बिकको घाँटीको चोट हेर्दा धारिलो हतियार प्रयोग भएको देखिएकाले अपराधिक समूहले हत्या गरी फालेको हुनसक्ने बताए।
धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक बिकको शव मोहना नदीबाट निकालीएको छ ।
हिजो रातिदेखि बेपत्ता भएका असइ बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो । उनको घाटीमा धारीलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ ।
मोहना नदी नजिकै रहेको उखुबारीमा रगतका छिटा सेमेत देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर साँउद भने फेला परेका छैनन । चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क बिहिन भएका थिए ।
आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा लाश फेला परेको थियो ।
प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहित, सशस्त्र प्रहरी, भारतिय सुरक्षा कर्मि लगाएतको टोली घट्नास्थल पुगेको छ ।
प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।


