धनगढी, असोज २७ (ई-रैवार)
काठ तस्करी गर्नेलाई कार्वाहीको माग राख्दै सव डिभिजन कार्यालय धनगढीमा स्थानियले उजुरी गरेका छन् । कैलालीको कैलारी गाउँपालिका वडा नं ९ बनकनरीका स्थानीयहरुले बन अतिक्रमणगरि काठ तस्करी गर्नेहरुलाई कार्वाहीको माग राख्दै सव डिभिजन कार्यालय धनगढीमा उजुरी दिएका हुन ।
असोज २० गते बसेको स्थानीयको भेलापछि काठ तस्करी तथा बन अतिक्रमण गर्नेहरुको नाम किटान गरेर उजुरी दिएको भएपनि सव डिभिजन बन कार्यालय धनगढी मौन बसेको स्थानीयहरुले आरोप लगाएका छन् ।
सामुदायीक बनका साथै सरकारी बनबाट निरन्तर काठ तस्करी भैरहेकाले त्यसलाई रोकथाम गरिपाउँ भनेर ९१ जनाले हस्ताक्षर गरेर उजुरी गरेका छन् । उजुरीमा बन अतिक्रमण रोक्नुपर्ने, सरकारी बन संरक्षण गर्नुपर्ने, बन अतिक्रमण तथा काठ तस्कर गर्नेहरु माथी कार्वाही गर्नुपर्ने माग राखेका छन् ।
कैलारीको वडा नं ९ र गौरीगंगा वडा नं १० को बिचमा केहि सरकारी जंगल रहेको छ । त्यस क्षेत्रमा तस्करी हुने काठ स्थानीय समिलमा चिरान हुने गरेको आरोप छ ।
कैलारी गाउँपालिका वडा नं ९ को सामरचौडामा स्थानीयले मिल संचालन गरिरहेका छन । सव डिभिजन बन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले जंगल अतिक्रमण गर्नेलाई नछोड्ने बताए । उनले उजुरीको बिषयमा आफुले कार्वाही प्रकृया अगाडी बढाई सकेको बताएका छन् ।








