आइसोलेसनबाट ३ दिनदेखी कोरोना संक्रमित फरार

आइसोलेसनबाट ३ दिनदेखी कोरोना संक्रमित फरार
Spread the love

बझाङ, असोज २६ (ई-रैवार)

मष्टा गाउँपालिकाका एक कोरोना संक्रमित युवक आइसोलेसनबाट भागेका छन् । बझाङको मष्टा गाउँपालिका–३ सेरा गदाडा टोलका एक २८ वर्षिय युवक गत शनिबार राति आइसोलेसनबाट भागेका हुन् ।

वडाध्यक्ष टेकबहादुर कठायतले भागेतोला आधारभूत स्वास्थ्य केन्द्रमा बनाइएको आइसोलेसनबाट २८ वर्षिय युवक भागेको बताए । उनी घर आएको ७ दिनपछि असोज २१ गते उनको नमुना स्वाब संकलन गरिएको थियो । असोज २२ गते जिल्ला अस्पताल बझाङको प्रयोगशालाबाट कोरोना पुष्टि भएको थियो । उनी असोज १५ गते भारतबाट आएर सिधै घर आएर थिए ।

७ दिनसम्म उनी घर र समुदाय घुलमिल भइसकेको वडा अध्यक्ष कठायतले बताए । गाउँमा निर्वाध डुलिरहेका उनलाई २३ गते प्रहरीले नियन्त्रण लिएर भागेतोला आधारभूत स्वास्थ्य केन्द्र राखेको थियो । उनी २४ गते राति फोन गर्ने निहुँमा बाहिर निस्केको र त्यहीँबाट फरार भएको आइसोलेसनमा रहेकाहरुले बताएका छन् ।

उनी भागेको ३ दिन भई सकेको भए पनि कहीँ फेला नपरेको हुँदा आसपासका गाउँमा लुकेको हुनसक्ने र उनमा रहेको संक्रमण समूदाय स्तरमा फैलनसक्ने भएकाले खोजी गरिदिन वडाध्यक्ष कठायतले सबैमा अनुरोध गरेका छन् ।