काठमाडौँ, जेठ १ (ई-रैवार)
दुई महिनाको रस्साकस्सीपछि सत्तारूढ नेकपा एमालेका दुवै समूह सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र खलनाथ खनाल तथा माधवकुमार नेपाल समूह जेठ २ लाई आधार बनाएर अघि बढ्न सहमत भएका हुन ।
सिंहदरबारमा शुक्रबार अबेर रातिसम्म बसेको बैठकले पार्टी एकतापूर्व अर्थात् जेठ २ लाई नै प्रस्थान विन्दु बनाएर सहमति खोज्ने निचोड निकालेको नेता भीम रावलले जानकारी दिएका छन् ।
कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको उनले बताए । नेताहरुका अनुसार अब बन्ने कार्यदलले माओवादी केन्द्रबाट आएका नेताहरुदेखि २ जेठमा फर्किँदा कायम हुने एमालेको संरचना र त्यसको नेतृत्वबारे निर्णय गर्नेछ ।
“हामीले हाम्रो पार्टीको एकतालाई कायम राख्नका लागि, पार्टीलाई अगाडि बढाउनका लागि गम्भीरतापूर्वक छलफल गर्यौँ,” बैठकपछि रावलले भने, “त्यसका लागि २०७५ जेठ २ गतेभन्दा अगाडिलाई आधार बनाएर छलफल गर्ने कुरा भयो । त्यो प्रयोजनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीजी र वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलका सदस्यहरू तय गर्ने कुरा भएको छ । तुरुन्तै कुराकानीलाई अगाडि बढाउने निर्णय भएको छ ।”
खनाल–नेपाल समूहका अर्का नेता रघुजी पन्तले पनि सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिए । “पार्टीलाई एकताबद्ध बनाउने विषयमा नै छलफल केन्द्रित भयो । छलफललाई निरन्तरता दिँदै जानेछौँ,” उनले भने ।
नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिंदै आएको थियो ।
माधव नेपाल पक्षसँगको वार्तामा गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागि थिए। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराइदिएपछि बादल एमाले प्रवेश गरेका थिए।
सिंहदरबारको बैठकमा ओली पक्षबाट बादलका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल सहभागी छन्।
नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी थिए।


