काठमाडौं, असोज २१ (ई-रैवार)
सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ । २४ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेको समिति गठन गरेका हुन् ।
शिक्षा सचिव मैनालीले भोलिबाट नै प्रारम्भिक चरणको वार्ता सुरु हुने बताए । शिक्षा सचिव मैनाली भन्छन्, भोलिबाट नै वार्ता सुरु गछौँ ।
चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो ।
सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक संघले भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गरेको थियो ।
चिकित्सक संघको आन्दोलन घोषणा भएको केहीबेरमै सरकारले वार्ता टोली गठन गरेको जानकारी दिएको हो ।


