भारतले नेपाली भू–भागमै जान नदिएको प्रति मुख्यमन्त्री भट्टको रोष्

भारतले नेपाली भू–भागमै जान नदिएको प्रति मुख्यमन्त्री भट्टको रोष्
Spread the love

धनगढी, असोज २१ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतले नेपाली भू–भागमै जान नदिएकोप्रति रोष् व्यक्त गर्दै दुई देशवीच कुटनीतिक छलफल हुनुपर्ने बताएका छन ।

दुई दिनअघि दार्चुलाको घाटीबगरहुँदै छाङरु र तिंकर गाउँ जोड्ने गोरेटो बाटोको उद्धघाटन गरेर फर्केका मुख्यमन्त्री भट्टले भारतीय रबैया विगत भन्दा झन बढाएको बताएका हुन ।

‘नेपाली भूभागमा रहेको भारतीय सुरक्षा फौज फिर्ता लैजानु त कहाँ हो कहाँ दुई देशको सीमा छुट्टाएर तारवार गरेको कालापानीको बोर्डरसम्म पनि नेपाली सुरक्षाकर्मी जान दिएको छैन् रे ।’ उनले भने–‘गागामा रहेको एपीएफ बोर्डर पोष्टका सुरक्षाकर्मी कालापानीको माथिल्लो कौवासम्म गस्ती गर्न पाएका छैनन् ।’

अहिलेको बोर्डरसम्म जानासाथ भारतीयले दुई किलोमिटर यतै रोक्ने गरेको नेपाली सुरक्षाकर्मी र त्यस क्षेत्रका जनप्रतिनिधि प्रदेश सांसद गेल्बु सिं बोहराले जानकारी दिएको भन्दै मुख्यमन्त्री भट्टले यस विषयमा दुई देशवीच छलफल हुनुपर्ने बताए ।

दुई देशको सीमामा बनाएको कुनैपनि संरचनाले एक(अर्काेलाई असर नपार्ने अन्तराष्ट्रिय मान्यता विपरीत नेपालसँग कुनै कुरा नगरी भारतले पारी सडक निर्माण गर्दा नदीमा ढुङ्गा माटो थुपारीएर नेपाली भूभागलाई असर परिरहेकोले रोक्नुपर्ने उनले बताए ।

नेपालले लिम्पयाधुरा लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेपछि भारतीयले नेपालीलाई झन दुःख दिने गरेको, अहिलेकै सीमासम्म पनि नेपाली सुरक्षा फौजलाई जान नदिएको विषय गम्भीर रहेकोले तत्कालै कुटनीतिक छलफलवाट समस्य समाधान गरिनुपर्ने उनको भनाई छ ।

दार्चुला भ्रमणका क्रममा मुख्यमन्त्री भट्टले सुनसेरादेखि अगाडी ७ किलोमिटर सडकको ठेक्का भएको तर, काम सुरु नगरेकोप्रति सरोकारवालालाई काम छिटो गर्न निर्देशन दिएको स्वकीय सचिव शिव सिं ओलीले बताए ।