धनगढी, असोज २१ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका आज थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तीन वटा प्रयोगशालामा ६ सय २३ जनाको नमुना परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ९६ जनाको नमुना परीक्षण गर्दा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको छ। धनगढीमा मात्रै ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नखुलेका २८ जना, वडा नम्वर ३, ५ र ८ का ३–३ जना, वडा नम्वर १ का २ जना, वडा नम्वर २ र ४ का १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नम्वर १ का २ जना र भजनी नगरपालिका वडा नम्वर ६ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन ।
यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८ जनाको नमुना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टका अनुसार दार्चुलाका ४६ जना र डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भट्टका अनुसार दार्चुलाका ४६ मध्ये ४५ जना सशस्त्र प्रहरी बल नम्वर ४४ गण दार्चुलामा कार्यरत सशस्त्र प्रहरी हुन्। सशस्त्र प्रहरी जवानदेखि सहस्त्र प्रहरी नायव निरिक्षकसम्मका ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु थलरा गाउँपालिकाका हुन् ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार पुगेको छ। संक्रमण पुष्टि भएका ६ हजार ६ सयले कोरोना जितेका छन् भने २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


