काठमाडौं, असोज १४ (ई-रैवार)
राष्ट्रियसभाका मनोनित सांसद बामदेव गौतमविरुद्ध परेको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । राष्ट्रियसभा सदस्य र मन्त्री बन्ने अयोग्य रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ बुधबार संवैधनिक इजलासमा सुरु भएको हो ।
आज रिट दर्ता गर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अलावा बद्रिबहादुर कार्की, हरि उप्रेती, रुद्र शर्मा लगायतले. बहस गरेका थिए । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेल र घनश्याम भट्टराईले बहस गरेका थिए । बामदेव गौतमको पक्षका कानुन व्यवसायीले बहस गर्न बाँकी रहेकाले अन्तिम किनारा लाग्न अझै केही समय लाग्न सक्छ । अर्को पेशी भोली (शुक्रबार) तोकिएको छ ।
आजै बामदेवविरुद्धको मुद्दामा संवैधानिक इजलाश गठन गरिएको थियो । राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउँदै दायर रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ जारी रहनेछ ।
यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले ७ असोजमा जारी गरेको आदेशमा भनिएको छ, ‘विषयवस्तुको गाम्भीर्य एवम् संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो नलागेसम्म यो विषयलाई यथास्थितिमा राख्नु आवश्यक देखिंदा विपक्षीको हकमा थप संवैधानिक जिम्मेदारी दिने लिने कार्य नगर्नू, नगराउनू भनी सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९ २ (ख) बमोजिम विपक्षीहरुका नाउँमा यो अन्तरिम आदेश जारी गरिएको छ ।’ भट्टराईको एकल इजलासले गौतमको मुद्दामा किन अन्तरिम आदेश जारी नहुनुपर्ने भन्दै जवाफ पेस गर्न आदेश गरेको थियो ।


