प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले ल्यायो कार्यक्रम : देशव्यापी आन्दोलन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले ल्यायो कार्यक्रम : देशव्यापी आन्दोलन गर्ने
Spread the love

काठमाडौं, पुस १९ (ई-रैवार) 

प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध चरणवद्ध रुपमा देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध  केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

बैठकले पुस २५ गते देशभरका तीन सय ३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार कांग्रेसले माघ ३ गते सात सय ५३ स्थानीय तहमा र माघ ८ गते छ हजार सात सय ४३ वडाहरूमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला कार्यसमितिहरुले पनि केन्द्रले निर्धारण गरेको कार्यक्रमसँग नजुध्ने गरि थप आन्दोलनका कार्यक्रम गर्न सक्ने निर्णय गरेको छ । कांग्रेसले यसअघि पुस १३ गते पनि प्रतिनिधि सभा विघटनविरुद्ध एक सय ६५ संघीय निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गरेको थियो ।

जिल्ला समितिले आफ्नो अनुकूलतामा  तथा पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरुले आ-आफ्नो आवश्यकता र अनुकूलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ । त्यसैगरी बैठकले २०७५ कात्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरुको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको पनि प्रवक्ता शर्माले बताए ।

बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मसान्तसम्म गरिसक्ने मिति तय पनि गरेको प्रवक्ता शर्माले बताए ।