डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै, पीसीआर रिपोर्ट नेगेटिभ

डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै, पीसीआर रिपोर्ट नेगेटिभ
Spread the love

काठमाडौं, असोज १२ (ई-रैवार) 

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिन थालेको छ । अनशनरत डा. केसीको हेरविचार गरिरहेको स्वास्थ्य टोलीका संयोजक डा. सुभाषप्रसाद आचार्यले विज्ञप्तिमार्फत उनको स्वास्थ्यबारे जानकारी दिएका हुन् ।

अनशनको १५ औं दिनमा उनलाई छातिको दुखाई, रिंगटा लाग्नेलगायत विभिन्न स्वास्थ्य समस्याहरु देखिएको चिकित्सकले बताएका छन् ।

विज्ञप्तिमा  रगतमा डब्लुबीसीको मात्रा अत्यन्त न्यून भएको छ भने ब्लड सुगर, सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम फोस्फोरस सबै न्यून भएको जनाएको छ ।

डा. केसीलाई उनको नशाहरु खुला गर्न आईभी नर्मल सलाइन दिइएको छ । अन्य कुनै पनि प्रकारका पदार्थहरु ग्रहण गर्न उनले अस्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँको स्वास्थ्य अवस्थामा कुनै पनि समय उव्ल्लेख्य परिवर्तन आउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चाँडै नै सघन उपचार कक्षमा स्थानान्तरण गर्नुपर्ने हुन सक्छ ।’

डा. सुभाषप्रसाद आचार्यले विज्ञप्तिमा डा. केसीको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी गराए छन ।