पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, ग्यास सिलिन्डरको १५७५ रुपैयाँ

Spread the love

काठमाडौं, कात्तिक २४ (ई-रैवार) 

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । दुई हप्ता नबित्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेल प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । बढेको मूल्य आजराति १२ बजेदेखि लागु हुनेगरी बढेको हो ।

अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू.१७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा  छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।